२०८१ आश्विन ११ , शुक्रवार

ट्रम्प र स्टार्मरबीच न्युयोर्कमा दुई घन्टाको डिनर भेट

donald trump
सुनाखरी न्युज/ काठमाडौं ।
बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले न्युयोर्कमा डोनाल्ड ट्रम्पसँग दुई घन्टाको डिनर भेट गरेको सञ्चारमाध्यमहरूले शुक्रबार बताएका छन् । बेलायतका नयाँ प्रधानमन्त्री र अमेरिकाका पूर्वराष्ट्रपतिबीचको यो पहिलो भेट थियो ।बिबिसी, द गार्जियन र द डेली मेलका अनुसार नोभेम्बरको अमरिकी निर्वाचनमा रिपब्लिकन उम्मेदवार ट्रम्पले बिहीबार ट्रम्प टावरमा लेबर पार्टीका नेता स्टार्मरलाई आतिथ्यता गर्नुभएको थियो ।
“मलाई वास्तवमै उहाँ राम्रो लाग्नुहुन्छ, उहाँले ठूलो दौड लगाउनुभएको छ, उहाँले अत्यन्त राम्रो प्रदर्शन गर्नुभएको छ, यो धेरै राम्रो सुरुआत हो, उहाँ धेरै लोकप्रिय हुनुहुन्छ”, भेटघाटअघि ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो ।स्टार्मरले जुलाईमा बेलायतको आम निर्वाचनमा १४ वर्षपछि कन्जरभेटिभहरूलाई सत्ताबाट हटाउँदै भारी मतले निर्वाचन जित्नुभएको थियो ।
स्टार्मरले अमेरिकी निर्वाचनका दुवै उम्मेदवारसँग भेट्नु आफ्ना लागि महत्त्वपूर्ण भएको तर ‘अति व्यस्त कार्यतालिका’ का कारण उपराष्ट्रपति एवं डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिससँग भेटघाट तय गर्न सम्भव नभएको बताउनुभयो । “हामीलाई अहिले ट्रम्पसँग भेट्ने अवसर छ, यो राम्रो कुरा हो”, उहाँले भन्नुभयो । ट्रम्प र स्टार्मरसँग विगतमा ट्रम्पका बारेमा कडा टिप्पणीहरू गर्नुभएका बेलायतका विदेशमन्त्री डेभिड लामी पनि सहभागी हुनुहुन्थ्यो । सन् २०१८ मा लामीले ट्रम्पलाई ‘महिलालाई घृणा गर्ने, नव–नाजी समर्थक समाजविरोधी’ भन्नुभएको थियो ।
यद्यपि लामी यस वर्षको प्रारम्भमा बढी कूटनीतिक हुनुभएको थियो । उहाँले एउटा सम्बोधनमा ट्रम्पको ‘युरोपेली सुरक्षाप्रतिको दृष्टिकोणलाई प्राय गलत बुझिएको’ बताउनुभएको थियो । बेलायती प्रधानमन्त्री स्टार्मरले निर्वाचनमा तटस्थ दृष्टिकोण अपनाउनुभएको छ । यद्यपि विश्लेषकहरूले विशेषगरी नाटो र युक्रेनप्रति ट्रम्पको समर्थनमा आशङ्का रहेकाले उहाँको राष्ट्रपतित्वले कठिनाइ सिर्जना गर्नसक्ने बताएका छन् । स्टार्मर राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्कमा हुनुहुन्थ्यो । रासस /एएफफी