२०८१ आश्विन ११ , शुक्रवार

काठमाडौँ उपत्यकाका नदीले पार गर्‍यो खतराको तह, सतर्कता अपनाउन आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रबार आएको बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो ।

विभागका अनुसार बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ । विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिकाले पनि शुक्रबार सूचना जारी गर्दै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ । बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

यो क्रम आइतबारसम्म रहने मौसमविद्हरूले बताएका छन् ।लगातार पानी पर्दा कोशीका झापा, मोरङलगायतका केही स्थान डुबानमा समेत पर्न थालेका छन् ।