२०८१ आश्विन १२ , शनिवार

विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालमा आइपरेका अनेकन विपत्तिको घडीमा विदेशी भूमिमा रहेका नेपालीले महत्त्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो ।

न्युयोर्कमा जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको छलफलमा मन्त्री राणाले भन्नुभयो, “विदेशमा बस्ने नेपालीले भूकम्प, कोरोना महामारी तथा अन्य कतिपय अवस्थामा उल्लेखनीय सहयोग गर्नुभएको छ ।”मन्त्री राणाले एनआरएनभित्र देखापरेका विभिन्न विवादका कारणले केही असर परेको भए पनि डायस्पोरा समेट्ने गरी मन्त्रालयमा एउटा अलग्गै इकाइ बनाएर काम गर्ने बताउनुभयो । उहाँले अमेरिकामा रहेका नेपालीलाई केकसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सल्लाह र सुझाव पेस गर्न आग्रह गर्नुभयो ।

संविधानले दिएका हकअधिकारको कार्यान्वयका लागि आफूले पहल गर्ने बताउँदै मन्त्री राणाले विदेशमा रहेका नेपालीले हासिल गरेको सीप, प्रविधि र पुँजीलाई आफ्नो मातृभूमीको रुपान्तरणमा प्रयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट र एनआरएन अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जिसीले यहाँ रहेका नेपालीका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।  रासस