२०८१ आश्विन १२ , शनिवार

पहिरोले घर पुरिँदा दुईको मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।

सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उहाँकी श्रीमतीको मृत्यु भएको हो ।

घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए ।

अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । सुनकोसी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको आयोजनाका कर्मचारी विनोद कार्कीले जानकारी दिनुभयो ।

मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुङ्गे पुल उच्च जोखिममा रहेको स्थानीय तारा गिरीले जानकारी दिनुभयो ।  रासस