२०८१ आश्विन १३ , आइतवार

बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गयो, ६८ जना बेपत्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अवर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यहाँ २४ घण्टामा ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ । काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको छ, २० जना बेपत्ता छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट शनिबार राति ११ बजेसम्म प्राप्त विवरणअनुसार विपद्बाट काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५/५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ ।