२०८१ आश्विन १३ , आइतवार

निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’को फस्ट लुक सार्वजनिक गरिएको छ । उक्त चलचित्र आगामी पुस ५ गतेदेखि सार्वजानिक प्रदर्शनमा आउने भएको छ ।चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा तयार गरिएको उक्त चलचित्रलाई दर्शकले साथ दिने विश्वास व्यक्त गर्नुभयो । पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् ।

मोबाइल दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या तथा त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे विषयमा चलचित्र निर्माण गरिएको हो । चलचित्र ‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशिला आचार्य र निर्माण सहायक रामगोपाल थापा रहेका छन् । “आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन्, जसको कुलतमा फसेर एउटा परिवारले कति सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश चलचित्रमा दिने प्रयास गरेका छौँ”, निर्देशक भट्टराईले भन्नुभयो ।

भक्तपुर, काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्र झिल्कोमा सामाजिक पारिवारिक विषयवस्तुको कथा रहेको निर्माण टोलीले जानकारी दिएको छ । “झिल्को आजको कथा हो । आजको समाज डिजिटल समाजका रुपमा निर्माण भइसकेको छ । डिजिटल युगमा प्रवेश गरिरहेका बाँचिरहेका हामीहरूले के विवेकपूर्ण व्यवहार गरेका छौ ँ? ग्याजेटहरूलाई प्रयोग गरिरहँदा हाम्रो अवस्था के छ ? आज बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्या बन्दै गएको दुव्र्यसनी डिजिटल दुव्र्यसनी हो । यही संवेदनशील विषय झिल्कोको कथा हो”, निर्देशक भट्टराईले भन्नुभयो ।

चलचित्र झिल्कोको छायाङ्कन गत वर्ष चैतदेखि थालिएको थियो । यसअघि सती प्रथाको कथामा चलचित्र ‘झोला’ निर्माण गरेका भट्टराईले झोलापछि दाइजोविरोधी चलचित्र ‘भोर’ निर्माण गर्नुभएको थियो । झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पार्नुभएको हो । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, सम्पादन निमेश श्रेष्ठ, गीत आनन्द अधिकारी, सङ्गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्मा, गायन शिव परियार र निशा देशार, मुख्य सहायक निर्देशन आकाश उखेडा, निर्माण नियन्त्रक दिलिप पन्त, सहायक निर्देशन अनिश बुढाथोकी, सह सम्पादन नारायण गैरे, मुख्य सहायक छायाङ्कन विवेक लामाको रहेको छ ।  रासस