२०८१ आश्विन १५ , मंगलबार

बाढी-पहिरोबाट २१ जिल्ला बढी प्रभावित, १७ अर्बभन्दा बढीको क्षति

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट १७ अर्बको क्षति भएको सरकारले जानकारी दिएको छ।मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा पत्रकार सम्मेलन गर्दै मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए। उनले बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएको बताए।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौं, ललितपुर, सिन्धुली, मकवानपुर बढी प्रभावित भएको उनले बताए।बाढीपहिरोबाट २२४ जनाको मृत्यु, २४ जना बेपत्ता रहेको बताए। विपद्मा परी १ सय ५८ जना घाइते भएको र सरकारले चार हजार ३ सय ३१ जनाको उद्धार गरेको जानकारी दिए। विपद्पछि खोज तथा उद्धारका लागि ३० हजार ७ सय ३१ प्रहरी परिचालन गरिएको जानकारी दिए।

बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।

खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए ।