२०८१ आश्विन १९ , शनिवार

बाढीले काठमाडौंको खानेपानी आपूर्ति प्रभावित, कहिलेदेखि आउला ?

Melamchi

सुनाखरी न्युज/ काठमाडौ।
खानेपानी आपूर्ति हुने स्रोत र प्रणालीमा बाढीले क्षति पुर्‍याउँदा काठमाडौं उपत्यकामा खानेपानीको संकट चुलिएको छ।

अहिले सुन्दरीजलबाट मात्रै दैनिक ६ देखि ८ करोड लिटर खानेपानी नियमित आपूर्ति भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका (केयुकेल) का प्रवक्ता प्रकाश राईले जानकारी दिए।

यति आपूर्तिले काठमाडौं उपत्यकाको १२ प्रतिशत खानेपानीको माग पनि धान्दैन।

‘बर्खायाममा खोलानाला, भूमिगत स्रोत आदिबाट दैनिक १६ देखि १८ करोड लिटर पानी आपूर्ति हुँदै आएको छ। असोज १० देखि १२ गतेसम्म परेको पानीले झन्डै १० करोड लिटर पानीको स्रोत र प्रणालीमा नोक्सानी पुर्‍याएको छ। हामी मर्मतकै क्रममा रहेकाले कहिलेदेखि नियमित हुन्छ भन्ने अवस्थामा छैनौं,’ उनले भने।

उनका अनुसार दसैंको फूलपातीअगाडि वितरण प्रणाली नियमित गर्ने काममा केयुकेएल लागिपरेको छ। तर कतिपय वितरण प्रणाली नै बाढीले बगाएकाले मर्मत गर्न समय लाग्ने देखिएको हो।

सुन्दरीजल बाहेकका अधिकांश आपूर्ति प्रणालीमा समस्या देखिएको उनले बताए। सुन्दरीजलपछाडि चापागाउँ, शेष नारायण ९फर्पिङ० क्षेत्रबाट काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गरिन्छ। त्यहाँबाट दैनिक ३(४ करोड लिटर आपूर्ति हुँदै आएकामा बाढीपछि त्यो ठप्प छ।

त्यसबाहेक केही वितरण केन्द्रमा पनि समस्या देखिएको उनले बताए।

बानेश्वर, त्रिपुरेश्वर लगायत वितरण केन्द्रबाट वितरण हुने प्रणालीमा बाढीले क्षति पुर्‍याएको छ। महांकाल, बोडेलगायत वितरण केन्द्रबाट पनि आपूर्ति हुन सकेको छैन। कीर्तिपुरको सुन्दरीघाटस्थित केयुकेएलको इलेक्ट्रो मेकानिकल शाखामा पनि बाढीले क्षति पुर्‍याएको छ।

 

काठमाडौं उपत्यकामा दैनिक ५ करोड लिटरमाथि त भूमिगत स्रोतबाटै पानी आपूर्ति हुन्छ। बाढीपछि भूमिगत स्रोतका अधिकांश प्रणाली अवरूद्ध छन्।

कतिपय ठाउँमा विद्युतका पोलसमेत ढलेकाले पनि आपूर्ति प्रणालीमा अवरोध भएको उनले बताए।

काठमाडौं उपत्यकामा झन्डै ५० करोड लिटर खानेपानीको माग छ। सिन्धुपाल्चोकको मेलम्ची नदीबाट दैनिक औसत १७ करोड लिटर र काठमाडौं उपत्यकाभित्रबाट औसत १३ करोड लिटर आपूर्ति हुँदा पनि उपत्यकाको माग धान्न सक्ने अवस्था थिएन।

मेलम्ची नदीबाट पनि तत्काल पानी आपूर्ति हुने अवस्था नरहेको मेलम्ची खानेपानी विकास समितिका प्रमुख कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।

मेलम्ची नदी धमिलो बगिरहेकाले तत्काल सुरूङमा हाल्न सकिने अवस्था नरहेको उनले जानकारी दिए।

मेलम्ची खानेपानी विकास समितिले दसैंअघि नै पानी पथान्तरणको योजना बनाएपछि त्यहाँका स्थानीय आन्दोलनमा उत्रिएका थिए।

उनीहरूले मेलम्ची खानेपानी परियोजनाका गाडी प्रवेशमै रोक लगाउँदै संघर्षका कार्यक्रम घोषणा गरेपछि समिति तत्काल पानी पथान्तरण सुरू गर्न रोकिएको थियो।

खानेपानी मन्त्री प्रदीप यादवले त्यहाँका जनप्रतिनिधि, संघर्ष समितिका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर छलफल पनि गरेका थिए। तर मनसुन लम्बिएकाले मेलम्चीको पानी फर्काउने योजना सुरू भएको छैन।

 

यस वर्ष बाढीले बाँध क्षेत्रमा थप क्षति पुर्‍याएको छैन। अस्थायी तवरले पानी पथान्तरण गर्ने सुरूङको मुखमा राम्रोसँग छेकबार लगाएकाले लेदो पस्न नपाएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ।