सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् ।
काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।
बडादशैंको अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गरे । साथै काठमाडौं मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालन हुनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।