२०८१ कार्तिक २ , शुक्रवार

मेयरको सचिवालयमा वडाध्यक्ष, अदालत जाने तयारीमा उपप्रमुख

Harka-Sampang-1

सुनाखरी न्युज/ विराटनगर ।

मेयरले उपमेयरको साटो वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगपालिकामा विवाद सुरु भएको छ ।

बिहीबार बेलायत उड्ने तयारीमा रहेका मेयर हर्क साम्पाङले २३ असोजमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्कनेछन् ।

 

साम्पाङले असोज २३ गते वडा अध्यक्षलाई पत्र पठाउँदै असोज २८ गतेबाट बेलायतबाट नफर्कुन्जेल ५ वटा शर्त राखेर अधिकार प्रत्यायोजन गरेका छन् ।

उपमेयर अइन्द्रबिक्रम बेघा पालिकामा हुँदाहुँदै वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएपछि ६ दलले आपत्ति जनाएका छन् । पूर्व पालिका प्रमुख तिलक राईले पनि मेयर साम्पाङको शैलीको आलोचना गरेका छन् ।

 

कार्यवाहक पालिका प्रमुख पनि मेयरको कार्यकक्षमा प्रवेश गरेका छैनन् । मेयर साम्पाङको कार्यकक्षमा ताला लागेको छ । कार्यवाहक जिम्मेवारी पाएका फागो प्रमुखको सचिवालयको कुर्सीमा बसेका छन् ।

 

पालिका प्रमुख साम्पाङले व्यक्तिगत रिसिइबीका कारण कार्यवाहक नदिएको भन्दै उपप्रमुख अइन्द्रबिक्रम बेघा अदालत जाने तयारीमा छन् । ‘म कानुनी उपचारका लागि अदालत जान्छु,’ उनले भने ।