२०८१ कार्तिक १६ , शुक्रवार

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

adv

सुनाखरी न्युज/ काठमाडौं ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उहाँले आभार व्यक्त गर्नुभयो । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिनुभएको उक्त राजदूतावासले जनाएको छ ।यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गर्नुभएको छ । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिनुभएको थियो । उपप्रधानमन्त्री पौडेलले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गर्नुभएको छ । रासस