सुनाखरी न्युज/ काठमाडौं ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ । पक्राउ परेको दिन (शुक्रबार)देखि नै गणना हुने गरी म्याद थप भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।
अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट पुन: म्याद थपको अनुमति लिनु पर्दछ ।