२०८१ कार्तिक २९ , बिहिवार

सलमान खानलाई धम्की दिने पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सलमान खानलाई धम्की दिएर ५ करोड भारतीय रुपैयाँ माग्ने २४ वर्षीय शेख हुसेन शेख मौसिन पक्राउ परेका छन् । मुम्बईको वर्ली प्रहरीले उनलाई झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको हो । उनलाई आज झारखण्डबाट ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको छ ।

जमशेदपुरका तरकारी विक्रेता रहेका शेखले गत हप्ता मुम्बई ट्राफिक प्रहरीलाई ह्वाट्सएप कल गरेर फिरौती मागेका थिए। उनले आफूलाई लरेन्स गिरोहको सदस्य घोषणा गरेका थिए ।

यसैबिच, प्रहरीले पछि सोही मोबाइल नम्बरबाट माफीको सन्देश प्राप्त गरेको थियो। प्रहरीले त्यो नम्बरलाई झारखण्डमा ट्रेस गर्‍यो र आरोपीलाई पक्राउ गर्न टोली पठाएको थियो।

मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो– ‘यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुस्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।’गत १२ अक्टोबरमा सलमानका निकटतम मित्र तथा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको थियो ।