सुनाखरी न्युज/ काठमाडौं।
कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस आज । प्रत्येक वर्ष तिहार सुरु भएको पहिलो दिन यो पर्व मनाइने गरिन्छ । यो दिनमा सुनचाँदीका गरगहना र भाँडाकुँडा किन्नु राम्रो मानिन्छ । नेपाल राष्ट्र बैंकले सोही अवसरमा आज एक दिनका लागि मात्र सुनको सिक्का समेत बिक्री गर्दै छ ।
धनतेरसको दिन किनेको हरेक सम्पत्तिको मूल्य १३ गुणा ले बढ्छ भन्ने मान्यता छ । विशेष गरी पौराणिक कालमा सुनलाई सबैभन्दा मूल्यवान् धातु मानिथ्यो । त्यसैले यो दिन सुन किन्दा राम्रो हुने मान्यता स्थापित भएको पाइन्छ ।
यसलाई धनतेरस नै किन भनियो त रु यसका पछाडि दुईवटा मान्यता रहेको पाइन्छ । भगवान् विष्णुले वामन अवतार लिएर बली राजाले देवताहरुसँग युद्ध गरेर जितेको जमिन फिर्ता गराएको वामन पुराणमा उल्लेख भएको पाइन्छ ।
बली राजाले आफूलाई त्रिलोककै शक्तिशाली र दानवीर राजा मान्थे । बली राजाको घमण्ड चुर गर्न विष्णुले वामन अवतार लिए र बली राजासँग तीन पाइला जमिन मागे । शुक्राचार्यले त्यो अवतार विष्णुको हो भन्ने समेत पहिचान गरे । त्यसैले उनले वामनले मागेको कुरा अस्वीकार गर्न बली राजालाई भनेका थिए ।
तर बली राजाले ले शुक्राचार्यको कुरा मानेनन् र वामनले जे मागे पनि दिने सङ्कल्प गरे । यसलाई रोक्न शुक्राचार्य बलीको कमण्डलुमा सूक्ष्म रूप धारण गरेर बसेका थिए । वामनले कर्मपात्रोमा कुशलाई यसरी राखे कि शुक्राचार्यको आँखा नै फुट्यो । त्यसपछि छट्पटाएर उनी कर्मपात्रोबाट बाहिर आएका थिए ।