२०८१ कार्तिक २० , मंगलबार

नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि

yuva-sankalpa-yatra

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ ।

यात्रा कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४ गते महाकाली पुगेर समापन बताइएको छ ।

 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने बताए ।

उनले भने, ‘कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ ।’

 

सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाब सिर्जना गर्ने सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

युवानेत्री तथा कलाकार राधिका हमालले देश बनाउन र नागरिकलाई सवल तुल्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यात्रा कार्यक्रम अघि बढाइएको बताइन् ।
रासस