२०८१ मंसिर ६ , बिहिवार

स्वर्ग

Dilli Ram

डिल्लीराम शर्मा संग्रौला:

मरेपछिको स्वर्ग मैले देख्या छैन, मलाई थाहा छैन
मैले देखेको स्वर्ग त नेपाल हो, विश्वमा कहीँ कतै छैन।

हिमाल, पहाड, तराईले सजिएको मेरो सुन्दर देश
नदी-नाला, तालहरूले अलंकृत मेरो अनमोल देश
प्रकृतिमा पाइने सबै कुरा छन् यहाँ, के छैन र ?
सगरमाथाले सजिएको शिखर,विश्वमा अन्त कहाँ छ र ?

हिउँ, जङ्गल, समथर भूमि बाह्रैमास मौसमको धनी
बगैँचामा फुलेका फूल सरह नेपालीको मिलेर बस्ने बानी
विविधतामा एकताले साथी, सुसज्जित मेरो देश
आफ्नै रीति आफ्नै थिति आफ्नै छ भाषा-भेष।

यस्ता सुन्दर देश निवासी, जाँदैछन् परदेश बनाई ताँती
अब त पैसा कमाउँछ छोराले भन्छन् गर्वले युगल दम्पति
आउँछन् कति बाकसमा बन्द भई, बस्छन् उतै कति
आपत पर्दा न छोराछोरी न इष्टमित्र न सुख शान्ति।

मरेपछिको स्वर्ग मैले देख्या छैन, मलाई थाहा छैन
मैले देखेको स्वर्ग नेपाल हो विश्वमा कहीँ कतै छैन।