२०८१ मंसिर १० , सोमवार

हरिबोधनी एकादशीका अवसरमा चाँगुनारायण मन्दिरमामा भक्तजनको भीड

Chagunarayan-1700719590

सुनाखरी न्युज/ काठमाडौं ।
हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रूपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो । आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्यप्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शंन गर्ने गर्दछन् ।

आज चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेहरूले पनि चाँगुनारायणको मात्रै दर्शन गरे पनि चार नारायणको दर्शन गरेबराबरको पुण्यप्राप्त हुने मान्यता रहेकाले यस मन्दिरमा बिहानदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको पुजरी राजोपाध्यायले बताउनुभयो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजै जागा हुनुहुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रूपमा विशेष पूजाअर्चना गरेर मनाइने पुजारी राजोपाध्यायको भनाइ छ ।

हरिशयनी एकादशीका दिन घरघरमा तुलसी रोपेको तुलसीको आज परम्पराअनुसार तुलसीको मठलाई सिङ्गारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराइएको छ । आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिडाँलु, सख्खरखण्ड, तरुणका परिकार खाने प्रचलन रहेको छ । नगरपालिकाले पहिलोपटक मेलाको व्यवस्थापन गरेको छ । मेलाको व्यवस्थापनका लागि चाँगनारायण नगरपालिकाले चारैवटा नाकामा स्वागतद्धार निर्माण गर्नुका साथै मन्दिरलाई सिङ्गारेर झिलीमिली बत्तीहरू हालेर मन्दिरलाई आकर्षक बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्दिर प्रवेश गर्ने सिढीँहरु, मन्दिर परिसर र आसपासका क्षेत्र सफा गरेका छौँ, मन्दिर सिङ्गारिएर झकमक्क बनाएका छौँ, साँझ झलमल्ल बत्ती बालेर मन्दिर चारैतिरबाट उज्यालो बनाएका छौँ, मन्दिर प्रवेश गर्ने नाका र चाँगुनारायण प्रवेश गर्ने नाकामा स्वागतद्धार बनएका छौँ । मन्दिरमा सहज दर्शनका लागि स्वयंसेवक परिचालनदेखि स्वास्थ्य शिविरको समेत व्यवस्था गरेका छौँ ।” नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले गएराति मन्दिरको अनुगमन गरी रातिदेखि नै मेला भर्नेका लागि सहज व्यवस्थापन मिलाएको बताउनुभयो । उहाँले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्नेगरी सडकको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यबस्थापनको तयारी गरिएको उहाँले बताउनुभयो ।

सार्वजनिक बिदा

चाँगुनारायण नगरपालिकाले चाँगुनारायण मन्दिरमा मेला लाग्ने अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्दै आज नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय, आकस्मिकबाहेकका सबै स्वास्थ्य संस्था, शैक्षिक संस्था, सरकारी, सार्वजनिक संस्थालाई बिदा दिने निर्णय गरेको बताउनुभयो । मन्दिरमा मेला भर्न र व्यवस्थापन गर्न आज बिदा दिएको उहाँले जानकारी दिनुभयो । सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको प्रमुख खत्रीले जानकारी दिनुभयो ।रासस