२०८१ मंसिर ७ , शुक्रवार

नेपालले आज ताजकिस्तानिसँग खेल्दै

Nepal-football-team-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग खेल्दैछ ।

खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगिसकेको छ ।

 

फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि रहेको ताजकिस्तानविरुद्ध उसैको मैदानमा काउन्टर अट्याक शैलीमा खेल्ने नेपालका अन्तरिम मुख्य प्रशिक्षक नविन न्यौपानेले बताएका छन् ।

 

 

नेपालले सन् २०१७ पछि पहिलो पटक ताजिकिस्तानसँग खेल्न लागेको हो । त्यो बेला एएफसी एसियन कप छनोटमा दुवै खेलमा नेपाल पराजित भएको थियो । यस्तै २०१६ को बंगबन्धु गोल्डकपमा पनि नेपाल ताजिकस्तानसँग पराजित भएको थियो ।

ताजकिस्तानले पछिल्लो समय प्रदर्शनमा सुधार गरिरहँदा नेपालको प्रदर्शन भने कमजोर छ । नेपाली पुरुष टोली ५ महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ ।

पहिलोपटक सिनियर टोलीको प्रशिक्षण सम्हालेका नविन न्यौपानेले बलियो टोलीसँग खेल्नु राम्रो अवसर हुने बताए । ‘हाम्रा लागि बलिया टोलीसँग खेल्नु एउटा राम्रो अवसर हो । मेरो पनि राष्ट्रिय टोलीमा पहिलो जिम्मेवारी हो,’ पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका न्यौपानेले भने, ‘त्यसैले मेरो लागि ठूलो चुनौती छ । आशा गर्छु कि मेरो टोलीले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो रिजल्ट दिनेछ ।’

यसैगरी नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले पनि ताजिकिस्तान राम्रो टोली भएको र खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘ताजकिस्तान राम्रो टोली हो । उनीहरुको खेलाडीहरू स्तरीय छन् । शारीरिक र प्राविधिक रुपमा ताजिकिस्तानका खेलाडी राम्रा छन्,’ किरणले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘हामी मानसिक रूपमा पनि ताजकस्तानविरुद्ध भिड्न तयार छौं । खेल प्रतिस्पर्धात्मक हुनेछ ।’

यस्तै ताजिकिस्तानका प्रशिक्षक गेला सेकिलाजे नेपालवरिुद्धको खेललाई हल्का रुपमा नलिएको बताए । ‘नेपाल पनि राम्रो टोली हो । उसका अनुभवी खेलाडी छन् । त्यसैले खेल राम्रो हुन सक्छ,’ सेकिलाले भने, ‘हामीलाई थाहा छ कि हाम्रो पछिल्लो खेल राम्रो भएको थिएन । हामी राम्रो खेल प्रदर्शन गर्दै समर्थकलाई खुसी पार्ने प्रयास गर्नेछौं ।’