२०८१ पुष २७ , शनिवार

नेपाली होटल क्षेत्रको वर्तमान अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सरकार पर्यटन विभाग र होटल संघ नेपालको संयुक्त आयोजनामा अन्तर सरकारी निकाय र सरोकारवालाहरूको सहभागितामा “स्टाटे्स अफ नेपलीज होटल्स: प्रस्पेक्ट्स एण्ड च्यालेन्जेज” विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। संघका अध्यक्ष विनायक शाहको अध्यक्षतामा काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका होटल व्यवसायको वर्तमान अवस्था, चुनौतिहरू, र समाधानका उपायबारे गहन छलफल गरिएको थियो।

होटल व्यवसायको वर्तमान अवस्था र मुख्य चुनौतिहरू

पर्यटन विभागका महानिर्देशक डा. नरायण प्रसाद रेग्मीले सरकारी र निजी क्षेत्रको सहकार्यबाट समस्या समाधानको दिशा पहिल्याउन यो कार्यक्रमले महत्वपूण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।हानका अध्यक्ष विनायक शाहले नेपालमा होटलहरूको संख्या र पर्यटकहरूको आगमनको अनुपातमा ठूलो असन्तुलन रहेको औंल्याउनुभयो।

हाल नेपालमा वार्षिक ३०–३५ लाख पर्यटक राख्न सक्ने क्षमता भए पनि आगमन संख्या करिब १०–१५ लाखमै सीमित रहँदा होटल क्षेत्रको भविष्य जोखिममा रहेको उहाँको भनाइ थियो।यसका साथै, उहाँले होटलहरूमा एमआरपी सम्बन्धी समस्या रहेको उल्लेख गर्नुभयो । हवाई भाडा महँगो हुनु, होटलको सेवा मूल्यमा गिरावट आउनु र डिसेम्बर-जनवरी महिनामा बुकिङ घट्नुले होटल व्यवसाय थप समस्यामा परेको विषयमा अध्यक्ष शाहले चिन्ता व्यक्त गर्नुभयो।

नीतिगत सुधार र आवश्यकताहरू

पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकालले नेपालमा अतिथी सत्कार क्षेत्रको स्थिति र यसका बिभिन्न आयामहरू जस्तै होटेल निरीक्षण, गुणस्तर मापदण्ड र अधिकतम खुद्रा मूल्यको मुद्दा, निगरानी, नियमन मापदण्ड र व्यवसाय संरक्षण, म्युजिक रोयल्टी कलेक्सन मुद्दा लगायत वातावरण संरक्षण ऐन, २०७६ र यसका चूनौतीहरु जस्ता १८ बिभिन्न मुद्दा र यसले नेपालको हस्पीट्यालिटी क्षेत्र मा परेको प्रभाब उपर आफ्नो राय प्रस्तुत गरेका थिए |

ढकालले पर्यटन नीतिमा दीर्घकालीन योजनाभन्दा छोटो अवधि लक्षित योजनामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो। भैरहवा विमानस्थलको सही उपयोग र आन्तरिक सडक तथा हवाई कनेक्टिभिटी सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो।पर्यटन सचिव डा. गणेश प्रसाद पाण्डेले वार्षिक पर्यटनको लक्ष्य राखेर हरेक वर्ष सुधारमा ध्यान दिइँदै पर्यटन दशक मनाइने धारणा राख्नुभयो। पर्यटक बसाइको अवधि (लेन्थ अफ स्टे) बढाउन नयाँ होटल थप्नेभन्दा सेवा र अनुभव सुधार्न केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले मुलुकलाई मर्यटकमैत्री बनाउन विमानस्थल तथा नाकाका अध्यागमनहरु चुस्तदुरुस्त बनाउने बताउनुभयो ।

पर्यटन बोर्डका प्रमुख दीपक राज जोशीले पर्यटन पूर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको मार्केटिङ, र डिजिटल प्रविधिको अभावले नेपालमा पर्यटकको अनुभव कमजोर बनिरहेको बताउनुभयो। उहाँले इ-भिसा र इ-पेमेन्ट प्रणाली तत्काल लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै उहाँले व्यवसाय प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डमा उद्योग सहजिकरण इकाई खडा गरिने पनि बताउनुभयो ।

ब्यबसायीहरुको माग होटललाइ रास्ट्रिय प्राथमिकता

कार्यक्रममा होटल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने, कानुनी जटिलता हटाउने, विमानस्थल र सडक सञ्जालहरु चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिइयो । होटल व्यवसायीहरूले सरकारबाट स्पष्ट नीतिगत निर्देशिका माग गरेका छन्। तारे होटलको मापदण्ड पुनरावलोकन, इन्धन र विद्युतमा सहुलियत, र होमस्टे व्यवस्थापनमा सुधारका लागि सुझाव प्रस्तुत गरियो।कार्यशालाले होटल व्यवसायको समग्र सुधारका लागि सरकारी तथा निजी क्षेत्रबीच आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएको छ। गोष्ठीमा साझेदारी र सहकार्यमा आधारित नीतिहरू लागू गर्नुपर्ने सबैको राय रह्यो। निजी क्षेत्रका सरोकारवालाहरूले कर्मचारी व्यवस्थापन, क्षमता विकास, र दक्ष जनशक्तिको दीर्घकालीन अभाव समाधान गर्न सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा होटल संघ नेपालका पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष हरिशर्मा गैरे, कानुनी सल्लाहकार प्रा.डा गान्धी पण्डित, विशिष्ट होटल व्यवसायी मेरियट होटलका शशिकान्त अग्रवाल, होटल याक एण्ड यतिका अरुण सर्राफ, होटल मेची क्राउनका बलराम सापकोटा, अलफ्ट होटलका गोपाल सिंह, स्क्वायर होटलका रोमी अर्यालले होटल संचालन र विकासका बारेमा आ–आफ्नो धारणा राख्न्नुभयो ।कार्यक्रम होटल संघ नेपालका प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतले संचालन गर्नुभएको थियो भने कार्यक्रमका रापोटिएर लबेस प्याकुरेलले तयार पारेको छलफलको निचोड पर्यटन विभागमार्फत नेपाल सरकारमा पेश गरिने जानकारी संघले गराएको छ ।