२०८१ पुष २० , शनिवार

नागरिकका गुनासो सङ्कलन गर्दै रामपुर नगरपालिका

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
नागरिकका गुनासो र अपेक्षा सङ्कलन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ‘जनप्रतिनिधिसँग संवाद’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १० वटै वडामा सुझावसहित गुनासो सङ्कलन गर्ने उद्देश्यले अभियानका रूपमा कार्यक्रम अघि बढाएको हो ।स्थानीय सरकारका कामबाट नागरिक सन्तुष्ट छन्/छैनन्, नगरका विभिन्न वडा तथा बस्तीमा भएका प्रगति तथा समस्याबारे स्थानीयसँग प्रत्यक्ष सुझाव सङ्कलन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।जनप्रतिनिधि प्रत्यक्ष रूपमा वडावडामा पुगेर नगरवासीको गुनासो सुन्ने, विकास निर्माणका साथै सामाजिक काम, आवश्यकताका आधारमा बजेट निकासा, पूर्वाधार निर्माणमा भएका प्रगति र ढिलासुस्ती, आगामी कार्यक्रममा महत्वका साथ समावेश गर्नुपर्ने योजनालगायत विषयमा स्थानीयबाट सुझाव लिन अभियान सञ्चालन गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले आवश्यक सुझावसहित गुनासो प्रस्तुत गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।
नगरपालिकाले वडावडामा सुरु गरेको उक्त कार्यक्रमले वडाभित्रका साना–ठूला सबै समस्या, विकास निर्माणका प्रगति, तत्काल गर्नुपर्ने कामलगायत विषयमा महत्वपूर्ण सुझाव दिन नागरिकलाई अवसर प्राप्त भएको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टङ्कनाथ पोखरेलले बताउनुभयो । “नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी सबैको उपस्थितिमा प्रत्यक्ष सहभागी भएर गाउँका समस्या, नागरिकका गुनासो, अपेक्षाअनुसार स्थानीय सरकारबाट भएका काम, आगामी दिनमा सुधार गर्नुपर्ने योजनालगायत विषयमा रचनात्मक सुझाव सङ्कलन गर्ने माध्यम यो कार्यक्रम बनेको छ”, उहाँले भन्नुभयो ।नगरपालिकाले वडा नं १ बाट सुरु गरिएको कार्यक्रम दशवटै वडामा सञ्चालन गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताउनुभयो ।
उहाँका अनुसार वडा नं १ मा सहभागीले टोल विकास संस्थाको काम तथा संस्था दर्ता र सञ्चालनका लागि बजेट विनियोजन, विकास निर्माणसम्बन्धी प्रगति र ढिलाइ, वडामा सञ्चालित योजना सम्झौता, योजनाको नियमित अनुगमन र मुल्याङ्कन, सरकारी संरचनामा बनेका संरचनाको संरक्षण, सडक सुरक्षा, सवारीसाधनको भाडादर कार्यान्वयन, विद्यालयका शिक्षक दरबन्दी, आपराधिक क्रियाकलाप नियन्त्रणका लागि भएका पहल, आयआर्जनमूलक क्षेत्र, कृषि तथा पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नतिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट उपलब्ध गराउन सुझाव व्यक्त गरेका छन् ।
नागरिकबाट आएका सुझाव र वडाका समस्यालाई नगरपालिकाले आवश्यकता र महत्वका आधारमा प्राथमिकता दिएर काम गर्ने नगरप्रमुख थापाले बताउनुभयो । नागरिक र जनप्रतिनिधि एकै ठाउँमा सहभागी भएर नगर तथा वडाका विषयमा संवाद गर्दा तत्काल गर्नुपर्ने काम र समस्या समाधानका विकल्प प्राप्त भएका भन्दै आगामी नीति तथा कार्यक्रममा ती सुझाव समावेश गरी योजना सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो । वडावडामा संवाद कार्यक्रम सुरु गरेपछि जनप्रतिनिधिले नागरिकका समस्या सुन्ने र जानकारी लिने भएकाले आगामी दिनमा योजना कार्यान्वयनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताउनुभयो । नगरपालिकाले थालेको उक्त कार्यक्रम सिधैँ नागरिकसँग जोडिएकाले नगरको समग्र विकास निर्माणमा महत्वपूर्ण प्रभाव पार्ने उहाँको भनाइ छ । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा नागरिकले जोड दिएका छन् ।  रासस