सुनाखरी न्युज/ काठमाडौं ।
जिल्लामा सुन्तलाखेती प्रवद्र्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ ।महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले रु पाँच लाखका दरले रु १० लाख प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिनुभयो ।
महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उहाँले बताउनुभयो । सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सव रैनादेवी छहरा गाउँपालिका–५ कनौजेपानी खेलमैदानमा हुनेछ । गत वर्ष पनि रिब्दीकोट गाउँपालिकाको आयोजनामा सुन्तला महोत्सव भएको थियो ।
महोत्सवमा कृषि उपज, कागती, अमिलो, जुनार, मुन्तला पनि समावेश गरिने जानकारी उहाँले दिनुभयो ।रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् । उनीहरूले गत वर्ष रु ४६ करोडको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस