सुनाखरी न्युज/ काठमाडौं ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग ( एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ ।
यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एनपीएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ । जारी एनपीएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ । जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ । जारी एनपीएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।