२०८१ पुष ८ , सोमवार

एनपिएलः चितवनले सुदुरपश्चिमलाई हरायो

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले १० रन बनाए ।चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान दुई विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रनको योगफल तयार गरेको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ५२ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए । त्यसैगरी रवि बोपारा १८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन बनाए भने कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोडे । विपीन रावलले १७ रन बनाए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेनले दुई विकेट लिए भने सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान एक विकेट लिए ।
यससँगै चितवनले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित भएको थियो ।   रासस