सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन्। राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका हुन्।
ट्रम्मले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्नेछन्।आफूले राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पुनरवलोकन गर्ने उनले बताएको बिबिसीले एनबिसीलाई उद्धृत गर्दै लेखेको छ। अब अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाउने तर कुनै पनि कागजात नभई अमेरिका पुर्याइएका आप्रवासीहरूबारे भने डेमोक्र्याटसँग मिलेर काम गर्ने ट्रम्पले बताएका छन्।
अमेरिकी संविधानको १४ औं संशोधनले अमेरिकामा जन्मिने सबै अमेरिकी नागरिक हुने भनेको छ। ‘हामी त्यसलाई परिवर्तन गर्नेछौं, यसको अन्त्य गर्नेछौं,’ उनले भने। यस्तो नीतिले संसारका अरू देशका मानिसहरू अमेरिका गएर बच्चा जन्माउने प्रवृत्तिलाई रोक्ने बताइएको छ।एजेन्सी