२०८१ पुष १० , बुधवार

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Capture

सुनाखरी न्युज/ काठमाडौं।

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको रु. ९८ करोड बराबरको IPOनिष्काशन गर्ने कार्य अगाडी बढेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्र्तगतका विभिन्न कम्पनीहरुको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटल बीच आज शेयर निष्काशन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ । यस कम्पनीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।

कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा लगानी गर्दछ । दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ । यस कम्पनीको मुख्य उद्देश्य लगानी मूलक हो । यस कम्पनीले हाईड्रो पावरको विभिन्न संरचनामा चाहिने मसिनहरु आयात गरि भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ३१ मा यसै आ.व.मा ३ (तीन) विगाह जमिन समेत खरिद गरेको कम्पनीले जनाएको छ । यस कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फुलबारी पार्क देउराली डाँडा स्थित सञ्चालनमा आई सकेको भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा समेत ठूलो लगानी रहेको छ ।

यस कम्पनीले IPO निष्काशन पछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ । यस इन्भेष्टमेण्ट कम्पनीले बडीमालिका केवलकार, ईच्छाकामना केवलकार र प्रभु जलविद्युत विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिवद्धता गरेको छ । यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्ब रहेको छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पूँजी छ र IPO बाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको २ अर्ब पूँजी पुग्नेछ । कम्पनीले जारी गर्ने शेयर प्रति कित्ता रु. ५० दरको १,९६,००,००० कित्ता हुनेछ । यो कम्पनी गत २ वर्षदेखि संचालन मुनाफामा रहेको कम्पनीले जनाएको छ ।