२०८१ पुष २६ , शुक्रवार

‘आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’

Capture

सुनाखरी न्युज/ काठमाडौं।

के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ ? यदि देखिन्छ भने सचेत हुनुहोला । यो सुझाव हो आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकार स्थापितको । उहाँ भन्नुहुन्छ, “यस्तो हुँदा सचेत रहनुहोला र अन्य लक्षणहरू पनि ख्याल गर्नुहोला !”

आँखा असामान्य रूपमा रातो हुने, दुख्ने, आँखाको आकार ठूलो हँदै जाने, बाहिरतिर आउने, आँखाको डेढोपन र आँखा सुक्दै जाने लक्षणहरू देखिन्छन् भने बालबालिकाको आँखामा हुने क्यान्सर जस्तो घातक रोग ‘रेटिनोब्लास्टोमा’ हुनसक्छ । “पाँच वर्षमुनिका बालबालिकामा यी लक्षणहरू देखिए तुरुन्त पहिचान र उपचार हुनुपर्छ”, तिलगङ्गा आँखा प्रतिष्ठानका ओकुलर ओन्कोलोजिस्ट र ओकुलोप्लास्टिक सर्जन डा स्थापित भन्नुहुन्छ, “रेटिनोब्लाष्टोमाको समयमा उपचार नहुँदा आँखाको ज्योतिमात्र गुम्दैन यसले बालबालिकाको मृत्युको जोखिमसमेत बढाउछ ।”प्रारम्भिक अवस्थामा समस्या पहिचान गर्न सके यो रोग फैलिनबाट बचाउन सकिने उहाँको भनाइ छ । “आँखामा ट्युमर विकास हुनुअघि नै यसको पहिचान हुनुपर्छ । यसबारे अभिभावक सुरुदेखि नै सचेत हुनुपर्छ ”, डा स्थापितको सुझाव छ ।

विश्वमा १५ हजार बालबालिकामध्ये एक जनामा रेटिनोब्लास्टोमाको समस्या हुने गर्छ । धेरैजसो पाँच वर्षमुनिका बालबालिकामा यो समस्या देखिने गरेको चिकित्सहरूले बताउने गरेका छन् । डेढ वर्षको उमेर समूहका बालबालिकामा यो समस्या बढि देखिने गरेको डा स्थापितले जानकारी दिनुभयो । उहाँका अनुसार तिलगंगा आखाँ प्रतिष्ठानमा मात्रै वार्षिक ५० जना यस्ता नयाँ बिरामी थपिने गरेका छन् । त्यसमध्ये मधेश प्रदेशका सिरहा र सर्लाहीबाट आउने बिरामी धेरै छन् । “नेपालमा आँखा परीक्षण गर्ने चलन छैन । कतिपय बालबालिकालाई जन्मदै आँखामा यो समस्या हुन सक्छ । त्यसैले समयमै आफ्नो बालबालिको आँखा स्वास्थ्यबारे ख्याल गरौँ”, डा स्थापित भन्नुहुन्छ ।

विकशित देशहरूमा यस्तो आँखा क्यान्सरबाट मृत्यु हुने दर पाँच प्रतिशत रहेको छ तर विकासशील देशहरूमा भने मृत्युदर ५० प्रतिशत रहेको छ । समयमा पहिचान र उपचार नभए बालबालिकाको मृत्युको जोखिम ९९ प्रतिशतसम्म हुने गरेको जानकारहरू बताउँछन् । दक्षिण एसियाका बङ्गलादेश, पाकिस्तान र नेपालमा मृत्युदर बढि देखिएको छ ।

उपचार के हो ?

रेटिनोब्लास्टोमाको उपचार शल्यक्रियाबाट हुन्छ । डा स्थापितले शल्यक्रियाबाट ट्युमरको उपचारका साथै अवस्थाअनुसार किमो थेरापी र रेडियसन पनि आवश्यक हुने बताउनुभयो । शल्यक्रियाबाट नक्कली आँखा प्रत्यारोपणसमेत गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । “आँखा र दृष्टि दुवै बचाउनका लागि समयमा पहिचान हुनु अनिवार्य छ, अस्पताल छिटो आउनुपर्‍यो ।

रोग लागिसकेपछि लेजर पद्धतिबाट शल्यक्रिया गरिन्छ । यसको उपचार लगातार दुई तीन वर्षसम्म गरिरहनुपर्ने हुन्छ”, डा स्थापित भन्नुहुन्छ ।यस रोगबारे पर्याप्त जनचेतना नहुनु र कमजोर आर्थिक अवस्थाका कारण पनि बिरामीले समयमै पहिचान र उपचार पाउन नसकेको नेत्र रोग विशेषज्ञहरू बताउछन् ।  रासस