सुनाखरी न्युज/ काठमाडौं ।
भारत पश्चिमा देशको निशानामा पर्दै गएको छ । केही महिना अघि अमेरिकाको प्रतिबन्ध सामना गरेको भारत रुससँग निकट सम्बन्धले ईयूको समेत प्रतिबन्धबाट दबाबमा छ ।
रुसको अर्थव्यवस्था र युद्ध क्षमता कमजोर बनाउने उद्देश्यले युरोपेली संघले नयाँ प्रतिबन्धहरु लागू गरेको छ । १५ औं प्याकेजका यी प्रतिबन्धमा रुसको ‘श्याडो फ्लिट’ का साथै प्रविधि आपूर्तिमा नियन्त्रण तथा भारत, चीन, इरान जस्ता देशका कम्पनी समावेश छन् ।
श्याडो फ्लिट जहाजहरुको एक समूह हो जसले प्रतिबन्धित सामान तस्करीका लागि छद्म रणनीति उपयोग गर्दछ ।
युक्रेनसँग युद्ध सुरु भएयता ईयूले रुसको ‘श्याडो फ्लिट’का अरु धेरै जहाजलाई प्रतिबन्धको सूचीमा थपेको छ । यी जहाजले प्रतिबन्धलाई नजरअन्दाज गर्दै रुसी तेल, हतियार र युक्रेनबाट चोरिएका अन्न लैजाने गर्दछन् ।
युरोपेली आयोगका अनुसार यीमध्ये ३३ जहाजले रुसी तेल र पेट्रोलियम उत्पादन ढुवानी गरिरहेका थिए । अब कुल ४३ जहाज ईयूको प्रतिबन्धको दायरामा आएका छन् । यी जहाजले पश्चिमी देशले तय गरिदिएको मूल्यको सीमा तोडेर व्यापार गर्दै आएका थिए ।
‘ब्ल्याक श्याडो’ पनि भनिने ‘श्याडो फ्लिट’लाई लिएर पश्चिमी देशको चिन्ता बढ्दो छ । किनभने यी जहाजले पारम्परिक नियम र बीमा प्रणालीभन्दा बाहिर रहेर काम गरिरहेका हुन्छन् । यीमध्ये केही जहाजले रुसका लागि उत्तर कोरियाबाट हतियार समेत पुर्याएको बताइन्छ ।
ईयूले रुस र उत्तर कोरियाबीच बढ्दो रक्षा सहयोगलाई पनि निशाना बनाएको छ । उत्तर कोरियाका दुई ठूला रक्षा अधिकारीहरुलाई प्रतिबन्ध लगाइएको छ । यी अधिकारीहरु रुसलाई हतियार र सैनिक पठाउने काममा संलग्न भएको आरोप छ ।