२०८१ पुष ३ , बुधवार

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

arrested

सुनाखरी न्युज/ सुनसरी।

धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पासपेन २ हजार १ सय ५० ट्याब्लेट सहित २ जनालाई मंलगाबर दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीया काजल तामाङ (लिम्बु) र सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय एलेन राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछी र अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले हर्क बहादुर तामाङको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी हर्क बहादुरकी छोरी काजल समेत २ जनालाई पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-१७ बस्ने २८ वर्षीय संजिव दंगाल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २७ वर्षीय भक्तु रानालाई अवैध लागूऔषध ब्राउनसुगर ८ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१० चारबाहिनी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ बस्ने ३९ वर्षीय ईरसाद अलीलाई मंलगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपि ४० वाइ ८५८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्ती बस्ने ३३ वर्षीय चन्द्र बहादुर गोलेलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।झापा, झापा गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ बस्ने २९ वर्षीय किशोर खवास, २८ वर्षीय सुरज राजबंशी र २८ वर्षीय सुनिल साह रहेका छन् । इलाका प्रहरी कार्यालय कुरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।