सुनाखरी न्युज/ काठमाडौं ।
अर्थ सवाल साप्ताहिकका सम्पादक तथा प्रकाशक रमेश कुमार बोहोरा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको सचिवमा निर्वाचित भएका छन् । यसअघि काठमाडौं शाखामा कार्यसमिति सदस्यका रुपमा सक्रिय बोहोरा गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् ।
नेपालमा लोकतन्त्र स्थापनाका साथै जनतालाई सुसूचित गर्न अहं भूमिका निर्वाह गरी इतिहास कायम गरेका साना तथा स्वरोजगारमूलक साप्ताहिक पत्रिकाहरुको हित र संरक्षणमा निरन्तर लागिपरिरहेका बोहोरा सचिव जस्तो जिम्मेवारीपूर्ण पदमा निर्वाचित भएसँगै समग्र पत्रकारहरुको साझा समस्या समाधान हुने विश्वास आम पत्रकारहरुले गरेका छन् ।
बोहोराको कार्यकालमा नेपाली पत्रकारिता क्षेत्रमा उत्पन्न विवाद समाधान गरी पत्रकारहरुको साझा संस्थाका रुपमा महासंघलाई स्थापित गर्ने र गैरपत्रकारहरुको प्रवेश रोक्न सफल हुने विश्वास गरिएको छ ।निर्वाचित भएपछि पत्रकार बोहोराले आफू सम्पूर्ण पत्रकारहरुको साझा मुद्दा बोकेर निरन्तर लागिपर्ने र विगतमा भन्दा अझ बढी सक्रिय हुँदै पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।