सुनाखरी न्युज/ काठमाडौं ।
भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।जयपुर–अजमेर राजमार्गको भांक्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए ।
घाइतेहरू मध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भन्नुभयो, “लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ । घटनामा धेरै घाइते भएका छन् । यो एक गम्भीर दुर्घटना हो ।”
आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो ।राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताउनुभयो । रासस/सिन्ह्वा