सुनाखरी न्युज/ काठमाडौं ।
जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल–शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ ।दक्षिणमा सिरियासँग सीमा जोडिएको जोर्डनले यसै महिनाको सुरुमा एक शिखर सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा अरब, टर्कीए, ईयू र अमेरिकी कूटनीतिज्ञहरूले वर्षौंको गृहयुद्धपछि समावेशी र शान्तिपूर्ण सङ्क्रमणका लागि आह्वान गरेका थिए।
गत डिसेम्बर ८ मा असदलाई सत्ताच्युत गर्ने आक्रमणको नेतृत्व गरेको इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) का शराले हालैका दिनमा मध्यपूर्व र त्यसभन्दा बाहिरका विभिन्न देशका वरिष्ठ अधिकारीलाई भेट गरी आफ्नो आगामी नीतिका बिषयमा स्पष्ट पार्दै सहयोगका लागि अपिल गर्नुभएको छ ।जोर्डनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा साफादीले सोमबार नयाँ सिरियाली नेताका साथै अन्य सिरियाली अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ ।
असदको पतनपछि जोर्डनका वरिष्ठ अधिकारीको यो पहिलो सिरिया भ्रमण हो ।सरकारका प्रवक्ता मोहम्मद मोमानीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै जोर्डनले ‘सिरियाली जनताको इच्छाको पक्ष लिएको’ बताउनुभएको छ ।मोमानीले सिरियामा सुरक्षा र स्थिरता बहाल भएको हेर्न चाहेको र आफ्नो भूभागको एकतालाई समर्थन गरेको बताउनुभयो ।युद्धग्रस्त सिरियामा स्थिरता जोर्डनको हितमा रहेको र यसले आफ्नो सीमामा सुरक्षा सुनिश्चित गर्ने मोमानीले बताउनुभयो ।
सन् २०११ देखि युद्धबाट भागेर जोर्डनमा शरण लिएका केही सिरियाली नागरिक स्वदेश फर्कन थालेको जोर्डनका अधिकारीहरूले बताएका छन् ।सिरियाको गृह मन्त्रालयले बिहीबार १३ लाख शरणार्थीमध्ये सात हजारभन्दा बढी सिरियाली नागरिक त्यहाँबाट बाहिरिएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जोर्डनमा छ लाख ८० हजार सिरियाली शरणार्थी दर्ता भएका छन् । रासस/एएफपी