सुनाखरी न्युज/ काठमाडौं ।
प्रयागराजमा उत्तर प्रदेश सरकारद्वारा आयोजित महा कुम्भ मेलाले विशेष गरी कारीगरहरू र दक्ष कामदारहरूको लागि धेरै रोजगारीका अवसरहरू ल्याएको छ ।कुम्भको समयमा ‘त्रिवेणी सङ्गम’ को किनाराहरू केही समयको लागि अस्थायी सहरमा परिणत हुन्छन् । यसले स्थानीय मानिसहरूलाई रोजगारीका अवसरहरू खोल्छ । यस वर्ष सन् २०२५ महाकुम्भ १३ जनवरीदेखि २६ फेब्रुअरी सन् २०२५ सम्म आयोजना हुँदैछ ।महाकुम्भ क्षेत्रमा ठूलो सङ्ख्यामा दक्ष कारीगर विभिन्न प्रकारका काममा सहभागी हुन आएका छन् ।
“हामीले यो काम (परालको झुपडी बनाउने) गर्दै आएका छौं । सबै कलाकार र कामदारहरू स्थानीय र केवट समुदायका हुन् । हाम्रो काम पुरातन जीवन शैलीबाट प्रेरित छ, जहाँ ऋषिहरू त्यस्ता झुपडीहरूमा बस्ने गर्थे । यसका लागि हामीसँग १५० जना कामदार भर्ना भएका छन् । हामीले दुईदेखि तीन महिनाको लागि रोजगारी पाउँछौं,”गीता प्रेसका उमाशंकर पाण्डेले एएनआईलाई बताउनुभयो ।“हामी पूरै परालको झुपडीबाट बनेको बङ्गला बनाउँदैछौं । हामी प्रत्येक वर्ष माघ र कुम्भ मेलामा यो काम गर्छौं । यो हाम्रो लागि रोजगारीको अवसर हो । यसपछि कुनै रोजगारी छैन,” एक मजदुरले बताउनुभयो ।“यी झुपडीहरू मेलाको समयमा मात्र बनाइन्छ । अहिले हामीसँग यो मात्र रोजगारी छ,” मोहनलाल निषादले भन्नुभएको छ ।
गङ्गा र यमुनाको ‘त्रिवेणी सङ्गम’ को किनारबाट ड्रोन दृश्यहरूले सन् २०२५ महाकुम्भ मेलाको लागि राज्य सरकारले गरेको व्यवस्था, भक्तहरूलाई स्वागत गर्न तयार पालहरू र पवित्र स्थलमा अस्थायी पुलहरू बनाएको देखाउँदछ ।यसका साथै आगामी ‘महा कुम्भ मेला’ अगाडि अवधको पेशवाई जुलुस प्रयागराज पुगेको छ । पेशवाई एक औपचारिक जुलूस हो, जुन कुम्भ मेलामा साधुहरू र आखाडा वा सम्प्रदायका अन्य सदस्यहरूको आगमनलाई चिन्ह लगाउँछ । यो एक भव्य परम्परा हो ।यसैबीच, अयोध्या नगर निगमले कुम्भ भक्तजनका लागि बासस्थानको व्यवस्था र खानेपानीको व्यवस्था गरेका छन् ।
अयोध्या नगर निगमद्वारा स्थापित आश्रय स्थानहरूले भक्तहरूलाई चिसो मौसमबाट बच्न मद्दत गर्नेछ । स्थानीय प्रशासनले गरिरहेको प्रयासले भक्तजनहरूलाई विशेष गरी कुम्भ पछि अयोध्या भ्रमण गर्नेहरूलाई कुनै समस्या नहोस् भनेर सुनिश्चित गर्नेछ ।अयोध्याका मेयर गिरीशपति त्रिपाठीले कुम्भको रमाइलोपछि सरयू नदी र रामलालाको दर्शन गर्न भक्तजनले अयोध्या आउने अपेक्षा गरिएको बताउनुभयो ।महाकुम्भको बारेमा पौराणिक मान्यता अनुसार प्रयागमा नुहाउनेहरू प्रायः सरयूमा स्नान गरी रामलल्लाको दर्शन गर्न जाने प्रयास गर्छन् ।
“यहाँ (अयोध्यामा) ठूलो सङ्ख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ । हामीले दिनहुँ करिब एक लाख भक्तजनको सेवा गरिरहेका छौं । भक्तजनको सुरक्षाका लागि आश्रयस्थलको व्यवस्था गर्ने प्रयास गरिरहेका छौँ । प्रयागराज पुगेपछि सहज अनुभव होस् भन्नका लागि नगर निगमले धेरै ठाउँमा सुरक्षित खानेपानी, शौचालय र बोनफायरको व्यवस्था पनि गरिरहेको छ,”त्रिपाठीले बताउनुभयो ।यसअघि, उत्तर प्रदेश सरकारले भक्तहरूका लागि विशेष सुरक्षा व्यवस्था गर्यो । भीड नियन्त्रण सुनिश्चित गर्न घोडाहरूसहित प्रहरी तैनाथ गरेको छ ।
रासस/एएनआई