२०८१ पुष २१ , आइतवार

पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवद्र्धन गर्ने सीको वाचा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सरकारी प्रसारक सिसिटिभीका अनुसार सीले भन्नुभयो, “अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै परिवर्तन भए पनि चीन सुधारलाई थप व्यापक रूपमा गहिरो बनाउन… र विश्व शान्ति तथा विकासलाई प्रवद्र्धन गर्न दृढ रहनेछ ।”सन् २०२२ फेब्रुअरीमा छिमेकी युक्रेनमा पुटिनले पूर्ण आक्रमण गर्नुभएपछि चीनले संयुक्त राज्य अमेरिz र अन्य पश्चिमी राष्ट्रहरूको विपरीत आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।तर चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार बनेको छ । जसका कारण केही नाटो सदस्यहरूले बेइजिङलाई युद्धको ‘सक्षमकर्ता’ ब्रान्ड गर्न प्रेरित गरेका छन् । युद्धलाई बेइजिङले कहिल्यै निन्दा गरेको छैन ।

सिसिटिभीका अनुसार सीले पुटिनलाई भन्नुभयो, “एक शताब्दीमा नदेखिएका तीव्र विकासोन्मुख परिवर्तनहरू र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रूस गुटनिरपेक्षता, गैर–टकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर हातेमालो गर्दै अघि बढेका छन् ।”दुवै राष्ट्रपतिबीच बलियो व्यक्तिगत सम्बन्ध छ । सीले आफ्ना रूसी समकक्षीलाई आफ्नो ‘सबैभन्दा असल मित्र’ भन्नुभएको छ भने पुटिनले उहाँलाई आफ्नो ‘भरपर्दो साझेदार’ मान्नुहुन्छ ।

युक्रेनमा रूसको युद्धले प्रदर्शित गरे जस्तै पश्चिमी देशहरूसँग बढ्दो तनावको एक दशकका बावजुद उहाँहरूको सम्बन्ध स्थिर रहेको छ ।सिसिटिभीका अनुसार ‘दुई देशबीचको सम्बन्धमा नयाँ महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै’ सन् २०२४ मा चीन र रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव भएको कुरा सीले पुटिनलाई उल्लेख गर्नुभयो ।“साढे तीन दशकको उतारचढावपछि, चीन–रूस सम्बन्धहरू अझ परिपक्व र स्थिर बन्दै गएका छन्”, सीले भन्नुभयो ।  रासस/एएफपी