२०८१ पुष २६ , शुक्रवार

कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो ।

बुधबार दिउँसो पसेको चितुवालाई आज बिहानमात्र नियन्त्रणमा लिन सफल भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । पोखराबाट आएका वन्यजन्तु उद्धार टोलीले कार्यालयका वन अधिकृत रामबहादुर विकको नेतृत्वमा चितुवालाई जीवितै उद्धार गरी नियन्त्रणमा लिइएको विकले जानकारी दिनुभयो । बिहीबार साँझ फार्ममा पुगेको उक्त टोलीले रातभर प्रयास गरेपछि आज बिहान उद्धार गरेको उहाँले बताउनुभयो ।

उद्धार गरिएको चिुतवालाई सुरक्षित स्थानमा लगेर छाडिने वन अधिकृत विकले उल्लेख गर्नुभयो । चितुवा ४० किलो तौलको छ भने करिब सात वर्ष हुनसक्ने उहाँले अनुमान गर्नुभयो ।फार्मभित्र पसेर चितुवाले ३० वटा कालिज मारेको छ भने सयौँ कालिज चितुवा पस्ने बेला जालीबाट भागेका कृषक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार चितुवाको आक्रमणबाट करिब रु सात लाखको क्षति भएको छ ।

जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको कृषि फार्ममा लगाइएको सात फिट उचाइको तारजाली पार गरेर चितुवाले कालिजमाथि आक्रमण गरेको बताउनुभयो । यसअघि पनि उक्त क्षेत्रमा चितुवाले बाख्रा, कुकुर, गाईभैँसीलाई आक्रमण गर्दै आएको थियो ।  रासस