सुनाखरी न्युज/ काठमाडौं ।
जिल्ला विपद् व्यवस्थापन समिति झापाले सदरमुकाम चन्द्रगढीमा २७ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । आज ‘भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले भूकम्पका जोखिम न्यूनीकरण गर्न घर, विद्यालयलगायत भौतिक संरचना निर्माण गर्दा सचेतना अपनाउनुपर्नेमा जोड दिनुभयो । भूकम्पजस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सुरुमा नै सतर्कता अपनाउनुपर्ने भन्दै उहाँले सर्तकता अपनाउँदा ठूलो जनधनको क्षति हुनबाट जोगिन सकिने धारणा राख्नुभयो ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भूकम्प नियन्त्रण गर्नु हाम्रो अधीन नभए पनि यसबाट हुने क्षतिलाई कम गर्न सजगता अपनाउनुपर्ने बताउनुभयो । भूकम्पसहित अन्य प्राकृतिक विपद्बाट बच्न पूर्वतयारी तथा यससम्बन्धी सचेतना अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भूकम्पको जोखिम न्यूनीकरणका लागि सचेतनासहित प्रचारप्रसार गरी यसबाट बच्ने उपायका बारेमा जनचेतना फैलाउन अपरिहार्य रहेको बताउनुभयो ।
विगत ९० वर्षमा चार ठूला र हजारौँको सङ्ख्यामा भूकम्पका धक्का भोगिसकेको उल्लेख गर्दै उहाँले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी र घर तथा भौतिक संरचना भूकम्प प्रतिरोधी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।भूकम्प सुरक्षा दिवसको अवसरमा सदरमुकाम चन्द्रगढीमा प्रभातफेरीको आयोजना गरी कर्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लास्थित सरकारी निकाय, सुरक्षा निकाय, जनप्रतिनिधि, शिक्षक विद्यार्थी, रेडक्रसलगायत स्थानीयको सहभागिता थियो ।
सङ्खुवासभामा पनि मनाइयो २७ औँ भूकम्प सुरक्षा दिवस
नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभा र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा आज २७ औँ राष्ट्रिय भूकम्प दिवस मनाइएको छ । सदरमुकाम खाँदबारीमा आयोजित कार्यक्रममा रेडक्रसका तर्फबाट भूकम्प आउँदा सुरक्षित कसरी हुने भन्नेबारेमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।
खाँदबारी नगरपालिकाका अधिकृत खेमराज निरौलाले भूकम्पीय जोखिम न्यूनीकरणका बारेमा प्रस्तुति दिनुभएको थियो । उहाँले भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । पूर्वतयारी, सुरक्षा विधि, आपत्कालीन सामग्रीको जोहो गर्नुपर्ने र खुला स्थानको पहिचान गरिरहनुपर्ने निरौलाले उल्लेख गर्नुभयो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाद्वार भूकम्पका बारेमा तयार गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । रासस