सुनाखरी न्युज/ मस्को ।
अमेरिकाले प्रस्ताव गरेको युक्रेनसँगको ३० दिने युद्धविराम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अस्वीकार गरेका छन् । उनले अस्थायी युद्धविरामले युक्रेनलाई पुन: संगठित हुने मौका दिने भन्दै अस्वीकार गरेका हुन् ।
रुसले युक्रेनमा दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको उनको भनाइ छ । ‘रुस र अमेरिकाबीच शान्त तरिकाले विचारको सामान्य आदानप्रदान भइरहेको छ,’ उनले भनेका छन् । तर रुसी राष्ट्रपति पुटिनले भने यसबारे कुनै टिप्पणी गरेका छैनन् । यसअघि रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ताबारे अमेरिकी पक्षबाट विस्तृत जानकारी पर्खिरहेको प्रतिक्रिया दिएका थिए ।
अमेरिका, युक्रेनलगायतका देशले प्रतिक्रिया पर्खिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने बुधबार युद्धग्रस्त कुर्स्कको क्षेत्रको अप्रत्याशित भ्रमण गरेका छन् । उनी गत अगस्टमा युक्रेनको आक्रमणपछि पहिलोपटक कुर्स्क पुगेका हुन् ।
पुटिनले कुर्स्कबाट युक्रेनी सेनालाई धपाउने रुसको अभियान अन्तिम चरणमा प्रवेश गरेको बताएका रुसको सरकारी समाचार संस्था तासले जनाएको छ । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले कुर्स्क क्षेत्र युक्रेनी सेनाबाट चाँडै फिर्ता लिइने र स्वतन्त्र घोषित गरिने बताएका छन् ।
एजेन्सी