अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको एक्सन ड्रामा फिल्म ‘कर्मा’को टिजर सार्वजनिक भएको छ। करिब दुई मिनेट लामो टिजरले फिल्मको कथावस्तु, परिवेश र पात्रहरूको संक्षिप्त झलक प्रस्तुत गर्छ। फिल्ममा विपिन कार्कीलाई एक्सन अवतारमा देख्न सकिन्छ।‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ भन्ने स्लोगन र विपिनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् ।
टिजरमा विपिन कार्कीको भरपुर एक्सन देखाइएको छ । टिजरमा विपिनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देख्न सकिनेछ।
टिजरमा विपिनलाई चरित्रका आयाममा पेश गरिएको छ । आमालाई माया गर्ने एक प्रिय छोरा जो परिवारको सुखलाई आफ्नो प्राथमिकता राख्छ । दोस्रो लेयरमा ऊ उत्तिकै विद्रोही र बदलाप्रेरित पनि छ ।‘नाका’पछि विपिन दोस्रोपटक एक्सन रोलमा देखिएका हुन् । ‘नाका’मा उनी ग्याङस्टर चरित्रमा थिए ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालले फिल्ममा लगानी गरेका हुन् । पटकथा लेखक र निर्देशकको रुपमा सौरभ चौधरी छन् । चौधरीले पछिल्लोपटक पुलिस थ्रीलर ‘अगस्त्य’ निर्देशन गरेका थिए । नयाँ वर्ष २०८२ को छेको पारेर ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । सार्वजनिक टिजरमा विपिनसंगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो ।